नेपाल युएईसँग १३ रनले पराजित
काठमाडौं । आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको छ ।
शनिबार युएईको अजमानमा भएको उक्त खेलमा यूएईले नेपाललाई १३ रनले पराजित गरेको हो । १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो ।
नेपाली टोलीकी कप्तान पूजा महतोले यसपल्ट पनि उत्कृष्ट प्रदर्शन गरिन्। ४३ बल खेलेकी उनले पाँच चौकासहित ४८ रन बनाइन्। ओपनर साना प्रविन र उपकप्तान सोनी पाख्रिनले समान १९ रन बनाए ।
ज्योत्सिका मरासिनी ११ रनमा अविजित रहँदा अन्यले सााथ दिन सकेनन्। युएईका इन्धुजा नन्दाकुमारी, लावन्या केनी र मेहक ठाकुरले समान एक विकेट लिए ।
युएईकी रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाइन्। ३३ बल खेलेकी उनले पाँच चौका र दुई छक्का प्रहार गरिन्। ओपनर लावन्या २० र इन्धुजाले १२ रनको योगदान दिए । अन्यको प्रदर्शन उत्साहजनक हुन सकेन।नेपालकी रिया शर्माले सर्वाधिक तीन विकेट लिइन्। पुजा महतो, करिष्मा गुरु र सीमा केसीको नाममा समान एक विकेट रह्यो।
डबल राउन्ड रोबिनमा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो हार हो। यसअघि नेपालले थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले पराजित गरेको थियो। युएई भने अपराजित छ। नेपालले आफ्नो चौथो खेल आइतबार थाइल्याण्डसँग खेल्नेछ ।
प्रतिक्रिया