मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

झापा । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१/७२ देखि आव २०८०/८१ सम्मको बरामद भएको हो ।

भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्ती÷खैनी रहेका छन् । निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन् ।  

यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए । “यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा पाँच हजार एक सय ८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्”, उनले भने ।

प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा पूmल ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए । “भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिणाममा माला आयो यो सबै अवैध रुपमा पैठारी भएको हो”, उनले भने ।

भारतसँगको खुला सीमाका कारण दैनिक रुपमा मालवस्तु अवैध रुपमा निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालले बताए ।

प्रतिक्रिया