यु–१९ महिला विश्वकप : नेपाललाई यूएईले दियो १२३ रनको लक्ष्य
काठमाडौं । आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपाल र युएई खेलिरहेका छन् ।
जारी खेल जित्नका लागि नेपालले १२३ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो ।
युएईको अजमानमा भएको उक्त खेलमा यूएईका लागि रिनिथा रन्जितले ३३ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै, लावन्या केनीले २० रन बनाइन् । नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक एक विकेट लिए ।
बुधबार देखि शुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्ड सँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेत सँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । प्रतियोगितामा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
सहभागी चार टोली मध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
प्रतिक्रिया