इजरायली हवाई आक्रमणमा ३ जनाको मृत्यु, ३० जना घाइते
एजेन्सी । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिण पश्चिमी लेबनानी शहर टायरमा ३ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आक्रमणमा दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए । यसले नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पुर्याएको समाचारमा उल्लेख छ ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार एम्बुलेन्सहरूले घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्याएको छ । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरेको छ ।
सिभिल डिफेन्स अफ द इस्लामिक मेसेज स्काउट्सले भग्नावशेष बाट बाँचेका तीन जनाको उद्धार गरेको र अरूलाई खोज्ने प्रयास जारी रहेको बताएको छ ।
सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हवाई आक्रमणहरू शुरु गरेको हो । लेबनानमा इजरायली हवाई आक्रमणले सन् २०२३ अक्टोबर ८ देखि तीन हजार ११७ व्यक्तिको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन् ।
रासस
प्रतिक्रिया