छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेलं) को अभिलेखीकरण शुरु गरेको छ । महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरण पश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ । 

विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी भए बमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भए अनुसार छात्रावास सञ्चालनका लागि महानगर सँग स्वीकृत लिनुपर्ने व्यवस्था छ ।  

सोही व्यवस्था अनुसार अनुगमन समिति बाट अनुगमनका क्रममा नियम अनुसार मापदण्ड पूरा भएको छ वा छैन अध्ययन समेत गर्ने प्रमुख शर्माको भनाइ छ । अभिलेखीकरण गर्न तत्कालीन जिल्ला शिक्षा कार्यलय बाट अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन भएका छात्रावासहरुले विवरण पेस गर्नुपर्ने छ । 

प्रचलिन कानून बमोजित अनुमति नलिई सञ्चालन भएको पाइएमा कानून बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ । नियम अनुसार छात्रावास सञ्चालनका लागि प्रचलित कानून अनुसार दर्ता भई नेपालीपन झल्कने गरी नाम राख्नु पर्नेछ । सञ्चालनको जिम्मेवारी लिएको व्यक्ति बारे उल्लेख हुनुपर्ने, भौतिक संरचना भाडामा हो की आफ्नो स्पष्ट उल्लेख गर्नुपर्ने, भान्साको व्यवस्था कस्तो छ उल्लेख हुनुपर्ने खेलकुद मैदानको व्यवस्था बारे खुलाउनु पर्ने, खानेपानीको अवस्था, स्थान घर वा शौचालय बारे बताउनु पर्ने उल्लेख छ । 

शैक्षिक मेलालाई निरन्तरता

काठमाडौं महानगरपालिकाले बिदाको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि सहयोगका लागि आवश्यक हुने कार्य सञ्चालन गर्ने जनाएको छ । भर्खरै सकिएको नेपालीहरुको महान्  चाड दशैं, तिहारको बिदाको समयमा पनि काठमाडौं महानगरपालिकाले विभिन्न शैक्षिक गतिविधि गरेको थियो ।

यस्तै, कार्यलाई निरन्तता दिने काठमाडौं महानगरपालिकाको भनाइ छ । प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यम बाट विद्यार्थीलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु मेलाको उद्देश्य रहेको काठमाडौं महानगरपालिका शिक्षा विभागको भनाइ छ ।  

दशैं तिहारको बिदामा पनि काठमाडौं महानगरपालिकाले ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा एक सय ५० भन्दा बढी विद्यार्थी सहभागी हुने भएका पाँच ठूला सामुदायिक विद्यालयमा मेला सञ्चालन गरेको थियो । ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न काठमाडौं महानगरपालिकाले यस्तो किसिमको कार्य गरेको जनाएको छ । 
रासस 

प्रतिक्रिया