अफगान नागरिक विरुद्ध ट्रम्पको हत्याको षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर
एजेन्सी । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नु अघि उनको हत्याको षड्यन्त्र गरेको भन्दै अमेरिकी सरकारले एक व्यक्ति विरुद्ध मुद्दा दायर गरेको छ ।
अमेरिकी सरकारका अनुसार, ‘ट्रम्पको हत्याको षडयन्त्र इरानमा रचिएको थियो र यस मामिलामा एक अफगान नागरिक विरुद्ध अभियोग लगाइएको छ ।’ अमेरिकी न्याय मन्त्रालयले शुक्रबार ५१ वर्षीय फरहाद शकेरी विरुद्ध आरोपपत्र जारी गरेको हो ।
जसमा उनलाई ट्रम्पको हत्याका लागि योजना बनाउने जिम्मेवारी सुम्पिइएको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी सरकारले फरहाद शकेरीलाई अहिले सम्म पक्राउ नगरेको बताएको छ । शकेरी हाल इरानमा रहेको अनुमान गरिएको छ ।
म्यानहट्टन अदालतमा दायर गरिएको निवेदनमा इरानको रिभोलुसनरी गार्ड्सका एक अधिकारीले सेप्टेम्बरमा शकरीलाई ट्रम्प माथि निगरानी राख्न र उनको हत्या गर्ने योजना बनाउन निर्देशन दिएको आरोप लगाइएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया