कारागार बाट सुरुङ खनी फरार भएका यादव पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका स्थित क्षेत्रीय कारागार झुम्का बाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्ष पछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इनरुवा–५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैदा भुक्तान गरिरहेका यादव सहित १२ जना २०६९ कात्तिक २३ गते फरार भएका थिए । विसं २०६५ वैशाख १६ गते विनायककुमार र श्यामकुमार यादवले प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए । उनको उपचारका क्रममा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । 

विनायकलाई कर्तव्यज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीले २०६५ जेठ ८ गते २० वर्ष ८ महिना १४ दिन कैद फैसला गरेको थियो । यादव सहित १२ जनाको समूहले २०६९ कात्तिक २३ गते क्षेत्रीय कारागार झुम्कामा पर्खालको भित्री भग बाट सुरुङ  खनी भागेका थिए । 

विनायकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले गोबरगाङा बाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीका लागि पठाइएकामा २०७२ वैशाख १२ गते उनी कारागार बाट भागेका थिए । विनायक लामो समय देखि भारतको सुपौल स्थित शिवनगरग्राम पञ्चायत रानीगञ्जमा बस्दै आएका थिए ।

छठ मनाउन नेपाल आएका बेला विनायकलाई  पेस्तोल एक थान र त्यसमा प्रयोग हुने ११ राउन्ड गोली सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए। झुम्का कारागार बाट सुरुङ खनेर फरार भएका ११ जना अझै फरार छन् । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
रासस 

प्रतिक्रिया