उदयपुरमा माओवादीले लगायो उम्मेदवारको टुङ्गो

गाईघाट । आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको छ ।

जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ र बेलका नगरपालिका–९ को रिक्त रहेको वडाध्यक्षको लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्रका नगर समितिले जनाएको छ ।

माओवादी केन्द्र त्रियुगा नगर समितिको बैठकले नगरको वडा नम्बर १२ को वडाध्यक्षको उम्मेदवारको लागि नवीनकुमार राईलाई उठाउने निर्णय भएको माओवादी केन्द्र त्रियुगा नगरपार्टीका प्रवक्ता गजेन्द्र राईले बताए ।

यसअघि पनि वडाध्यक्षमा झिनो मतले पराजय भएका राईलाई यस पटकको उपनिर्वाचनमा पनि वडाध्यक्षको लागि उम्मेदवार उठाउने पार्टी नगर समितिले निर्णय गरेको त्रियुगा नगर माओवादी केन्द्रका पार्टी अध्यक्ष मानवबहादुर राईले बताए ।

यस्तै बेलका नगरपालिका–९ को रिक्त वडाध्यक्षको पदको लागि माओवादी केन्द्र बेलकाले युवा नेता भरत घिमिरेलाई उम्मेदवार उठाउने निर्णय गरेको माओवादी केन्द्र बेलका नगरसमितिका अध्यक्ष मनोज तामाङको भनाइ छ ।

यी दुवै वडाको लागि मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएर स्वीकृतिको लागि माथिल्लो समितिका पठाउन लागिएको पनि सम्बन्धित नगर समिति माओवादी केन्द्रका पार्टी अध्यक्षहरूले बताउँछन् ।

प्रतिक्रिया