‘नेपालको पूर्वाधार विकासमा सहयोग गर्छौं’
पर्वत । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् ।
पर्वतको फलेवास नगरपालिकास्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा राजदूत सोङ्गले नेपाल र चीनबीचको सम्बन्ध निरन्तर सुमधुर रहेको बताए । मित्रराष्ट्रको विकास र समृद्धिका लागि सहयोग गर्न चीन सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
हिमाल र नदीले जोडिएका नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएको बताउँदै सोङ्गले नेपालको सडक, विद्युत्, शिक्षा क्षेत्रको सुधारमा सहकार्य गरिने बताए । उनले नेपाल एक स्वतन्त्र र विकासशील राष्ट्र बनोस् भन्ने चीनको इच्छा रहेको बताए ।
राजदूत सोङले कोरला नाका सञ्चालनका लागि चीन सरकार तयार रहेको बताए । कोरला नाकामा नेपालतर्फ पनि पूर्वाधार निर्माणमा चीन सरकारले सहयोग गर्दै आएको बताउँदै उनले नाका सञ्चालनपछि दुई देशको सम्बन्ध अझै बढ्दै जाने पनि बताए । पर्यटकीयस्थल पोखरामा पटक–पटक आएको भए पनि नजिकै रहेका सुन्दर ठाउँमा पनि आउन पाउँदा खुसी लागेको उनको भनाइ थियो ।
जिल्लाकै नमूना विद्यालयको रूपमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि पनि चीन सरकारले सहयोग गर्ने भएको छ । विद्यालयले भौतिक पूर्वाधार निर्माणका लागि ५० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी नेपाल सरकारमार्फत दूतावासमा पेस गरेको छ ।
प्रतिक्रिया