‘दलित मानव अधिकार पुस्तक–२०८०’ सार्वजनिक
काठमाडौं । समता फाउण्डेसनद्वारा प्रकाशित ‘दलित मानव अधिकार पुरस्तक–२०८०’ आज सार्वजनिक गरिएको छ ।
फाउण्डेसनले आज आयोजना गरेको ‘जलवायु परिवर्तन र त्यसले सीमान्तकृत समुदायमा पारेको प्रभाव’ विषयक अन्तक्र्रियाका अवसरमा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेसनका अध्यक्ष डा मदनप्रसाद परियार र फाउण्डेसनका सञ्चालक समिति सदस्य तथा पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
फाउण्डेसनका अनुसार विसं २०८० मा सार्वजनिक तथा निजी स्थानमा जातका आधारमा विभेद, छुवाछूत, निषेधका जम्मा १२ वटा (१७ प्रतिशत) घटना भएका छन् भने सात वटा उजुरी दर्ता र एक वटा मिलापत्र गरिएको छ ।
त्यसैगरी पेसा, व्यवसाय तथा श्रममा जातका आधारमा विभेद, छुवाछूत, निषेधका जम्मा पाँच (८ प्रतिशत) वटा घटना भएका छन् भने तीन वटा घटना कानुनी प्रक्रियामा अगाडि बढाइएको छ र तीमध्ये एक वटा घटना विदेशी भूमिमा (जापानको टोकियोस्थित रेस्टुरेन्ट) भएको छ ।
“अन्तरजातीय विवाहमा जातका आधारमा विभेदका १० (१७ प्रतिशत) वटा घटना भएका छन् भने छ वटा घटना कानुनी प्रक्रियामा अगाडि बढाइएको छ । १० वटामध्ये दुई वटा घटनापीडितलाई झुठो मुद्दा लगाइको घटना छ”, अध्ययन पुस्तकमा भनिएको छ ।
त्यसैगरी जातका आधारमा गाली बेइज्जती, अपमान, कुटपिट, धम्कीका २९ (४८ प्रतिशत) घटना भएको, २५ वटा घटना कानुनी प्रक्रियामा गएको र दुई वटा घटनामा कानुनी कारबाही भएको फाउण्डेसनका अध्यक्ष डा मदनप्रसादले बताए ।
प्रतिक्रिया