बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा शुरु

चितवन । यहाँको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण शुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण शुरु गरिएको हो ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा शुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिए पछि सेवा शुरु गरिएको हो ।
 
उनका अनुसार एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिम प्राप्त जनशक्ति र उपकरण आए सँगै सेवा शुरु गरिएको उनले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार यस अघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाडौं जाने गर्दथ्यो । नतिजा आउन १५ दिन भन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उनले जानकारी दिए । बाहिर पठाउँदा ३० हजार भन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा १२ हजार मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ । 

उनले भने, “छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।” कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताए ।  अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ, भने लामो समय देखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइदै छ ।
रासस 

प्रतिक्रिया