सम्पर्कविहीन मनाङ्गेको विज्ञप्ति- फैसलाको पूर्णपाठ आएपछि अदालतमा आत्मसमर्पण गर्छु

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् ।

व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन भएका थिए ।

शुक्रबारको मितिमा एक विज्ञप्ति जारी गरेर उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाएका हुन् ।

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालतको निर्णय सदर गरेकाले फैसला कार्यान्वयनका लागि पूर्णपाठ तयार हुन आवश्यक पर्दैन । फैसलापछि उनको खोजी थालेको प्रहरीले ‘स्विच अफ’ गरेर सम्पर्कविहीन भएको जनाएको थियो ।

प्रतिक्रिया