उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपण पछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
एजेन्सी । दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपण पछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
आणविक–सशस्त्र उत्तरले गत दुई साता छुट्टा छुट्टै अभ्यासमा आफ्नो सबै भन्दा उन्नत र शक्तिशाली ठोस–इन्धन अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) र केही छोटो दूरीका बैलिस्टिक क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो ।
दक्षिण कोरियाली सैन्य कमान्डले गरेको लाइभ–फायर अभ्यास ‘उत्तर कोरियाली उक्साहटको दृढता पूर्वक जवाफ दिने दृढ सङ्कल्प प्रदर्शन’ गर्न लक्षित रहेको बताएको छ । ज्वाइन्ट चिफ्स अफ स्टाफले अभ्यासले ‘शत्रुको उक्साहटको स्रोत विरुद्ध सटीक आक्रमण गर्ने क्षमता र तयारी’ पनि रहेको बताएको छ ।
सैन्य कमान्डका अनुसार अभ्यासमा पश्चिमी समुद्रमा ह्युनमु सतह–देखि–सतह छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो । दक्षिण कोरियाले उत्तर कोरिया बाट उत्पन्न खतराको सामना गर्न सन् १९७० को दशकमा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रको स्वदेशी उत्पादन शुरु गरेको थियो ।
ह्युनमु क्षेप्यास्त्रहरूको एक शृङ्खला हो । यो मुलुकको कथित ‘किल चेन’ पूर्व–आक्रमणात्मक प्रहार प्रणालीको मुख्य हिस्सा हो । यसले सोललाई उत्तर कोरियाली आक्रमणको तत्काल सङ्केत देखिएमा पूर्व–आक्रमणात्मक आक्रमण गर्न अनुमति दिन्छ ।
अक्टोबरको शुरुमा देशले पहिलो पटक आफ्नो सबै भन्दा ठूलो ब्यालिस्टिक क्षेप्यास्त्र ह्युनमु–५ प्रदर्शन गरेको थियो । यो क्षेप्यास्त्र भूमिगत बङ्करहरू नष्ट गर्न सक्षम छ ।
गत आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाले उत्तरको आइसिबिएम प्रक्षेपणको जवाफमा अमेरिकी बी–१बी बमवर्षक, दक्षिण कोरियाली एफ–१५के र केएफ–१६ लडाकू जेट तथा जापानी एफ–२ जेटहरू समावेश गरी संयुक्त हवाई अभ्यास गरेका थिए ।
यस्ता, संयुक्त अभ्यासले प्योङयाङलाई आाक्रोशित तुल्याउँछ । उत्तरले यसलाई आक्रमणको पूर्वाभ्यासका रूपमा हेर्ने गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी एवं प्रमुख प्रवक्ता किम यो जोङले अमेरिका–दक्षिण कोरिया–जापान अभ्यासलाई ‘हाम्रो मुलुक प्रति शत्रुको सबै भन्दा शत्रुतापूर्ण र खतरनाक आक्रामक प्रकृतिको कार्य–आधारित व्याख्या’ भएको बताएका छन् ।
रासस
प्रतिक्रिया