इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो

एजेन्सी । एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भए पछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुई वटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिएका छन् । 

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले ‘इजरायली नागरिक विरुद्ध भएको हिंसात्मक घटना’ को कारण बारे केही बताएको छैन, तर डच सञ्चारमाध्यम एटी–फाइभले बिहीबार राति युरोपा लिगको एक खेलमा समर्थकहरू बीच झडप भएको रिपोर्ट गरेको छ । बिहीबारको खेलमा इजरायली फुटबल टोली म्याकाबी तेल–अभिभले अजाक्स एम्स्टर्डमको सामना गरेको थियो।

रिपोर्टका अनुसार शहरको मध्यभागमा थुप्रै व्यक्ति बीच भएको झगडा पछि भौतिक आक्रमण र तोडफोडका घटना समेत भएका छन् । “प्रधानमन्त्री नेतन्याहूले यस भयानक घटनालाई अत्यन्त गम्भीरताका साथ लिनुभएको छ र डच सरकार र सुरक्षा बलहरूले दङ्गाकारीहरू विरुद्ध कडा र छिटो कदम चाल्न र इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरे,“ नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षा गाडीहरू उपस्थित भइसकेका छन् भने सम्भावित थप झडपलाई मध्यनजर गर्दै थप सुरक्षाकर्मीलाई बोलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रहरी प्रवक्ताले एएनपी समाचार संस्थालाई दिएको जानकारी अनुसार घटनामा संलग्न रहेको आरोपमा ५७ जनालाई पक्राउ गरिएको छ । बिहीबार एम्स्टर्डमको प्रहरीले सामाजिक सञ्जालमा एउटा भवन बाट प्यालेस्टाइनको झण्डा च्यातिएको लगायत राजनीतिक संलग्नताको आरोप लागेका घटनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको जनाएको छ ।
रासस 

प्रतिक्रिया