तराई–मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्यो : महामन्त्री थापा
वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन् ।
परिवारका सदस्य सहित शुक्रबार वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेसको छठ पर्व सहभागी हुने रहर पहिला देखि भए पनि यसपाली पूरा भएको बताए । “तराई–मधेसको छठ पर्व हेर्ने पहिला देखि नै मन थियो । हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो”, उनले भने, “यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।”
महामन्त्री थापाले काठमाडौंको भन्दा तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताए । “काठमाडौंको कमलपोखरीमा हामी आफैँ संलग्न भएर छठ पूजा गर्न थालेको त १२–१३ वर्ष भइसक्यो । छठपर्व सँग जोडिएको विधि र उत्साहका विषयमा त जानकार नै छु”, उनले भने, “विगतमा हामीले सञ्चालन गरेकाले पनि थाहा नै छ ।”
महामन्त्री थापाले जनकपुर र वीरगञ्जमा छठ पर्वको आआफ्नै विशेषता रहेको पनि बताए । “सुरुआती चरणमा वीरगञ्जको घडीअर्वा पोखरीको गेट भित्र छिर्ने बित्तिकै त सजावट देखेर आनन्द लाग्यो । यहाँ त अनुमान गरेको भन्दा पनि धेरै आकर्षक बनाइएको रैछ”, उनले भने, “काठमाडौंको कमलपोखरीमा पनि सजावट हुने गरे पनि त्यहाँको भन्दा भव्य र सभ्य रहेको पाए ।”
रासस
प्रतिक्रिया