बेतका फर्निचर बाट मासिक ५० हजार आम्दानी
सुनसरी । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्ष देखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् ।
परिश्रमी उनले भारतको सिलगुडी बाट बेत ल्याएर फर्निचर बनाउँदै आएका छन् । उनले भने, “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरी सम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक ५० हजार सम्म बचाउन सकिन्छ ।”
बेत बाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रो लगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उनले भने, “बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।” उनले सजावटका सामान पनि बनाउन थालेका छन् । ती सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताए । हाल उनको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् ।
बेत बाट बनेका सजावटका सामान सात सय देखि १६ हजार सम्ममा बिक्री हुने गरेका छन् । सिलगुडी बाट एक बण्डल बेतलाई तीन हजार पाँच सय पर्ने गरेका छन् । एक बण्डल बेत बाट पाँच वटा सम्म सामान बनाउन सकिने भएकाले आफूलाई घाटा नभएको उनले बताए ।
राजकुमार जस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गरेका छन् । एघार वर्ष देखि बेतका फर्निचर बनाउँदै आएका उनले मासिक ८० हजार सम्म आम्दानी हुने गरेको बताए । उनले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गरृका छन् ।
उनले भने, “बेतको सामान बनाउन जोकोहीले सक्दैनन्, त्यसैले भारतीय कालीगढ राखेर काम गरिरहेको छु, बिक्रीको समस्या छैन । बेतको सामान १० देखि २५ वर्ष सम्म प्रयोग गर्न सकिन्छ ।”
हातमा सीप भए रोजगारीका लागि विदेशिनु नपर्ने तथा स्वदेशमै व्यवसाय गर्न युवापुस्तालाई प्रेरित गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
रासस
प्रतिक्रिया