डाँकाचोरीको आरोपमा २ जना प्रहरी पक्राउ
काठमाडौं । डाँकाचोरीको घटनामा संलग्न आरोपमा काठमाडौंमा नेपाल प्रहरीका असई र जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उपत्यका अपराध अनुसन्धान कार्यालयको कीर्तिपुर शाखामा कार्यरत असई अनबहादुर पुन र जवान धीर बुढा छन् ।
उनीहरूलाई अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको पउपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
काठमाडौंको कलंकीमा एउटा समूहले २५ लाखमा अर्को समूहलाई ‘लेदर क्वाइन’ बेच्दै थिए । तिहार अगाडि सो सूचना लेदर क्वाइन कारोबार गर्न खोज्नेहरुले प्रहरीलाई दिए । लेदर क्वाइन किन्न आउने समूहले रकम लिएर आउन र सो रकम लुट्ने योजनामा असई र जवान कलंकी पुगेका हुन् ।
त्यसपछि किन्न आउनेहरुलाई प्रहरी र कारोबार गर्न खोज्ने अर्को समूहले मिलेर पक्राउ गरेर ट्याक्सिमा राखेर खसिबजारमा लगे । खसी बजारस्थित ‘टिकटक रेष्टुरेण्ट’मा दिनभर बन्धक बनाएर पैसा मागेको र पैसा नपाएपछि हत्कडी खोलेर असई र जवान हिँडेका थिए । घटना बाहिरिएपछि उनीहरू पक्राउ परेका हुन ।
लेदर क्वाइन कारोबार गर्ने नाममा २५ लाख लिएर आउनेहरुलाई लुट्न खोज्ने थप ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।
किनबेच गर्न खोजिएको लेदर क्वाइन नक्कली पुष्टि भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।
प्रतिक्रिया