राष्ट्रिय सभा बैठकमा सांसदहरुले के-के भने:-

राष्ट्रिय सभा बैठकमा सांसदहरुले संसदको निरन्तरको अवरोधमा चासो देखाएका छन । आजको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसदको अवरोधको विरोध जनाए । उनले जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको बताए । 
सांसद देवले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । सीआईबीको अनुसन्धानलाई विश्वास नगरी विरोध गरेको देख्दा शंका उठेको उनको भनाइ थियो ।  नेकपा माओवादी केन्द्रका सांसद गंगाकुमारी वेलवासेले पटक पटक संसद अवरोध हुँदा त्यसको क्षेति मुलुकले बेहोर्नुपरेको गुनासो गरिन । 
सांसद बेलबासेले सरकारमा हुने संसद विघटन गर्ने र विपक्षमा हुँदा अवरोध गर्ने के एमाले तरिका हो भन्दै प्रश्न समेत गरिन । राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आग्रह गरे । सरकारले सुन प्रकरणको छानविन गरिरहेकाले अवरोध जरुरी नरहेको उनको भनाइ छ ।  
नेकपा एमाालेकी सांसद भगवती न्यौपानेले आफूहरुले सभ्य तरिकाले जायज माग राखेर सदन अवरोध गरेको बताइन् । 
त्यस्तै एमाले सांसद डा. विमला राई पौड्यालले सरकारले बहुमतको आडमा सुन तस्करीमा संलग्न व्यक्तिहरुमाथि छानबिन गर्न नदिएको आरोप लगाउँदै त्यस्तो प्रयास गर्नु लोकतन्त्रको लागि नै घातक भएको टिप्पणी  गरिन ।  
जसपाका राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले आदिवासी जनजाति र पछाडि परेका वर्गलाई होच्याउने काम भइरहेकोमा सरकारको ध्यानाकर्षण गराए । 

प्रतिक्रिया