एमाले अवरोधका कारण प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज पनि अबरुद्ध
सत्ता पक्षीय सांसदहरुद्वारा पनि बैठकमा अवरोध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राखेको छ । सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसदमा शुक्रबार पनि अवरोध कायम राखेको हो । बैठकको सुरुमै एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । सो क्रममा साहले नेपाली कांग्रेसको सांसद सुनिल शर्मालाई सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति माग गरेकै कारण पक्राउ गरिएको आशंका प्रकट गरिन ।
सांसद साहले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरिन् । उनले उच्चस्तरीय समिति नबनेसम्म एमालेको अवरोध कायमै रहने बताइन् । त्यसपछि एमाले सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सो क्रममा सत्तारुढ दलका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने बताएपछि सभामुख घिमिरेले सभा आफ्नो नियन्त्रणमा चल्ने प्रतिक्रिया दिए ।
एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक साउन २९ गतेबजेसम्मका लागि स्थगित भएको छ । एमालेले सुन तस्करी प्रकरणबारे छानबिन समिति गठन गर्न माग गर्दै साउन दश गतेदेखि संसद अबरुद्ध गर्दै आएको छ ।
राष्ट्रिय सभा
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । बैठकमा आज दलीय आधारमा धारणा राख्ने क्रम सकिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु उभिएर बिरोध जनाएका हुन । अध्यक्षले बिरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर बैठक अवरोध गरेपछि बैठक रोकिएको हो ।
संसदमा निरन्तर अवरोध भएपछि अध्यक्ष तिमल्सिनाले सत्ता पक्ष र प्रतिपक्ष दुबैलाई सदनको गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन ।
दुवै पक्षका सांसदहरु उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको बताए । राष्ट्रिय सभाको आगामी बैठक साउन ३१ गते बुधबार दिउँसोका लागि बोलाइएको छ । साउन दश गतेदेखि सुन प्रकरणमा उच्चस्तरीय छानबीनको माग गर्दै एमालेले राष्ट्रिय सभा अबरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया