भक्तपुरको कमल पोखरीदेखि गोदावरी सम्मका छठ घाट झकिझकाउ
भक्तपुर । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यसवर्ष पनि भक्तपुर र ललितपुरका पोखरी तथा खोलामा आज छठ पर्व भव्य रुपमा मनाइँदै छ ।
छठ मनाउनेको भीड बाक्लिँदै गएको र छठका सामान धमाधम छठ घाटमा राख्न थालिएको छ ।छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका छन् । तराई–मधेशबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा बसोबास गरेकाले भक्तपुरको कमल पोखरीमा छठ मनाउने तयारी गरेका छन् ।
भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा दुई सयभन्दा बढी परिवारले पोखरी सिङ्गारेर, मूर्ति राखेर र पूजाको तयारी गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिए ।
छठ पर्वका लागि यहाँका स्थानीयवासीले सहयोग गरी सामाजिक सद्भाव व्यक्त गरेको उनले बताए ।
भक्तपुर र ललितपुरको सिमानास्थित गोदावरी खोलामा पनि आज छठ पर्वको तयारी गरी छठ मनाउनेको बाक्लो चहलपहल रहेको बालकोट बस्दै आएका दशरथ ठाकुरले जानकारी दिए । गोदावरी खोला सिङ्गारिएर झकिझकाउ बनाइएको र बालकोट, सिरुटार र ललितपुरको टीकाथली, चाँगाथलीदेखि सातदोबाटो सम्मका क्षेत्रमा बस्दै आएका दुई सय बढी परिवारले छठ मनाउने सामग्री ल्याउन थालेको उनले बताए ।
छठपर्वको अवसरमा आज साँझ अस्ताउँदो सूर्य र भोलि शुक्रबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुने उनले जानकारी दिए ।
आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी आज जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइँदैछ । छठको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीको अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि शुक्रबार सप्तमीको दिन उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।
प्रतिक्रिया