उपनिर्वाचन: रा.स्व.पा.ले खटायो सातै प्रदेशमा कमाण्डर, उम्मेदवार छान्न पार्टीभित्रै निर्वाचन
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि सातै प्रदेशमा कमाण्डर खटाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो ।
कोशीमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम प्रदेशमा विष्णु कुमार श्रेष्ठलाई निर्वाचन प्रयोजनका लागि जिम्मेवारी दिएर फिल्डमा खटाएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता गरिँदैछ । त्यसका लागि रास्वपाले आन्तरिक निर्वाचन गर्ने तय भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुली बताउछन् ।
उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’
यसैगरी, रास्वपाले उपनिर्वाचनमा उम्मेदवारको टुंगो भने ‘प्राइमरी इलेक्सन’ (प्रारम्भिक निर्वाचन) मार्फत गर्ने भएको छ ।
स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने कार्यतालिका तय गरेको रास्वपाले बिहीबार एक सूचना जारी गर्दै उल्लेख छ ।
कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखेर नामावली प्रकाशन, दाबी विरोधलगायतको प्रक्रिया पूरा गरेर कात्तिक २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने रास्वपाले जानकारी दिएको छ ।
उम्मेदवारको टुंगो लगाउन कात्तिक २८ गते मतदान भएर अन्तिम नतिजा कात्तिक २९ गते दिउँसो १ बजे प्रकाशित गरिनेछ ।
प्रतिक्रिया