के होलान ट्रम्पमाथिका मुद्दा ?

एजेन्सी । अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड जोन ट्रम्प बिजयी भएका छन् । 

गत मंगलबार भएको राष्ट्रपति निर्वाचनको मतगणना बुधबार सकिएको थियो ।रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्व राष्ट्रपति समेत रहेका ट्रम्पले बर्तमान उपराष्ट्रपति डेमोक्र्याटिक पार्टीकि उम्मेदवार कमला ह्यारिसलाई पराजित गरे । 

ट्रम्पले चुनाव जितेपछि उनीबिरुद्धका मुद्दा के होलान भन्ने चासो छ । किनकि बिश्वको शक्तिशाली राष्ट्र अमेरिकामा कानून पालनमा निकै कडा मानिन्छ । ट्रम्प  कानुनी रूपमा दोषी हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्।तर उनले फेरि राष्ट्रपतिको पद सम्हाल्दै गर्दा उनीविरुद्धका कैयौँ आपराधिक मुद्दा अदालतमा बिचाराधीन छन् । ट्रम्प न्यूयोर्क राज्यमा व्यावसायिक अभिलेखहरू किर्ते गरेका ३४ वटा कसुरमा दोषी ठहर भइसकेका छन्।

कैयन अपराधिक मुद्दा हुँदा हुँदै ट्रम्प देशको सर्वाेच्च पदमा पुगेकाले अमेरिकामा मात्रै होइन बिश्वभर यसलाई चासो दिएर हेरिएको छ । ट्रम्प बिरुद्ध कैयन आपराधिक मुद्दा रहेता पनि खास गरी चारवटा कानुनी मुद्दा के होला भन्ने सबैको चासो छ । 

१. जोर्जा चुनावसम्बन्धी मुद्दा

ट्रम्पले जोर्जा राज्यमा पनि सन् २०२० को चुनावी मतपरिणाम उल्ट्याउने प्रयास गरेको भन्दै आपराधिक मुद्दाको सामना गरिरहेका छन्।तर अहिले ट्रम्पले चुनाव जितेसँगै उक्त मुद्दा टुङ्गो लाग्न  ढिलो हुन सक्छ वा मुद्दा खारेज पनि हुन सक्छ।कतिपय कानुन बिदले ट्रम्पको कार्यकालमा यो मुद्दा अघि नबढ्ने आशंका पनि जनाएका छन् । 

२. पूर्व’पोर्नस्टार’लाई  पैसा दिएको मुद्दा

गत मेमा ट्रम्पलाई  न्यूयोर्कको एक अदालतले एक पूर्व’पोर्नस्टार’लाई ट्रम्पको गोप्य कुरा लुकाएर’चुप बस्न’का लागि पैसा दिएको अभियोगमा दोषी पाएको थियो। न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले गत सेप्टेम्बरबाट उनको सजाय तोक्ने मितिलाई चुनावपछि अर्थात् नोभेम्बर २६ का लागि सारेका थिए। ट्रम्पका मुद्दाहरु विचाराधीन रहँदा उनी स्वतन्त्र रुपमा अहिले काम गरिरहेका छन् । यदि यसमा ट्रम्प दोषी देखिए उनका वकिलहरुले पुनराबेदन मार्फत यसलाई वर्षाैसम्म लम्बयाउन सक्छन् । 

३.निर्वाचन सम्बन्धि मुद्दा

अमेरिकी विशेष अनुसन्धानकर्ता ज्याक स्मिथले सन् २०२० को राष्ट्रपतिको निर्वाचनमा जो बाइडनको जितलाई उल्ट्याउने प्रयास गरेको भन्दै ट्रम्पविरुद्ध आपराधिक मामिलामा मुद्दा दायर गरेका थिए। त्यस बखत ट्रम्प पनि राष्ट्रपतिको उम्मेदवार बनेका थिए । तर जो वाइडेनसँग पराजित भए । तर ट्रम्पले आफूले बाइडनको जितलाई उल्ट्याउने प्रयास नगरेको दाबी गर्दे आएका छन् ।  यसमा त्यहाँको सर्वोच्च अदालतले ट्रम्पले पदमा रहँदा गरेका निर्णयहरूमा उनीमाथि लाग्न सक्ने आपराधिक अभियोगहरूमा आंशिक रूपमा छुट पाउने आदेश दिएसँगै यो मामिला अहिले कानुनी अनिश्चिततामा फसेको छ। त्यसपछि स्मिथले पुनः मुद्दा दायर गरेका छन्। 

४. गोप्य दस्तावेजहरूसम्बन्धी मुद्दा

ट्रम्पले सन् २०२० को राष्ट्रपति निर्वाचनमा पराजित भएर राष्ट्रपति भवन ह्वाइट हाउस छाडेपछि गोप्य दस्तावेजहरूको गलत प्रयोग गरेको आरोपमा ट्रम्पविरुद्ध मुद्दाको पनि स्मिथले नै नेतृत्व गरिरहेका छन्। उक्त आरोपलाई  ट्रम्पले अस्वीकार गरेका छन्।

 उनीमाथि फ्लोरिडास्थित घरमा संवेदनशील कागजातहरू भण्डारण गरेको त्यसमा जाँचबुझ गर्ने कार्यमा न्याय मन्त्रालयलाई अवरोध गरेको आरोप लगाइएको छ।

ट्रम्पमाथि यस्ता आरोप हुँदा हुँदै उनका मुद्दा के हुन्छन्?उनी जेल जान्छन् या मुद्दालाई लम्ब्याइन्छ यसप्रति धेरैको जासो छ । 


 

प्रतिक्रिया