उपनिर्वाचन : राष्ट्रिय मान्यता नपाएको एकीकृत समाजवादी गठबन्धन गर्ने तयारीमा

काठमाडौं । २०७९ सालको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउन नसकेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ ।

अबको निर्वाचनमा एक्लै लड्ने बताउँदै आएपनि सरकारमा भएका कांग्रेस एमालेबाहेक विपक्षी दलहरुसँग उपनिर्वाचनमा सहकार्य गर्न तयार भएको हो ।

मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ । समाजवादी पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा रहेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

सम्भव भएसम्म एक्लै चुनाव लड्ने तयारी गरेपनि आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताउँदै उनि भन्छन्, ‘हामी अहिले उम्मेदवार चयनको प्रक्रियामा छौं, २५ गतेभित्र भइसक्छ ।’

उपमहासचिव भट्टराईले चुनावी गठबन्धनको लागि समाजवादी मोर्चामा भएका दलहरुलाई पहिलो प्राथमितामा राखेको बताए । मोर्चामा नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराया यादव पक्षको नेसपा सहभागी छ ।

उनले विपक्षी दलहरुसँग सामान्य छलफल भइरहेपनि कुनै ठोस निर्णय नभएको बताए । नेकपा एसले उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

उपनिर्वाचनको उम्मेदवारी दर्ता मंसिर २ गते हुने भएकाले त्यसअघिसम्म माओवादीसहित अन्य विपक्षी दलसँग चुनावी गठबन्धन हुनसक्ने समाजवादीभित्र चर्चा चलिरहेको छ ।

प्रतिक्रिया