अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटक जस्ता समाजिक सञ्जालले  बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । 

प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरेका छन् । 

अष्ट्रेलिया सामाजिक सञ्जालको नकरात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । प्रधानमन्त्री अलबानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबै भन्दा महत्वपुर्ण र आमा –बाबा सँग विताउनु पर्ने उमेर भएको उनले प्रष्ट पारेका छन् । 

नोभेम्बरको अन्त्यमा संसदमा पेस हुनु अघि यो कानूनहरू यस हप्ता राज्य र क्षेत्रका नेता समक्ष प्रस्तुत गरिनेछ । कानून पारित भएपछि, कार्यान्वयनका लागि एक वर्षको  अवधि दिइनेछ । यसको प्रभावकारी कार्यन्वयनका लागि आमाबाबु तथा युवाहरू जिम्मेवार हुनेछन् ।  

फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ भने अस्ट्रेलियाले प्रतिबन्ध लागू गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताएका छन् । 

हेर्न नचाहेका अनावश्यक सामाग्रीहरु सामाजिक सञ्जालमा प्रणालीमा देखा पर्ने भएकाले नियन्त्रण गर्नु परेको अल्बानिजले बताएका छन् । यसैगरी, सञ्चार मन्त्री मिसेल रोल्यान्डले सामाजिक सञ्जाल सञ्चालन गरेका कम्पनीहरूमा बारम्बार जिम्मेवारीको ‘कमी’ देखिइरहेकोे बताएका छन् ।   

रोल्यान्डले इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्स जस्ता नेटवर्क तथा कम्पनीहरूले निर्धारित कानूनको उल्लङ्न गरेमा आर्थिक दण्डको सामना गर्नुपर्ने  बताएका छन् । 

फ्रान्सले यस अघि नै सन् २०२३ मा कानून पारित गरी  सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर  कम्तीमा १५ वर्ष हुनु पर्ने व्यवस्था गरेको थियो ।  
रासस 

प्रतिक्रिया