स्याङ्जामा सयपत्री फूलको बिक्री बाट ५ लाख आम्दानी
स्याङ्जा । यहाँका एक किसानले दशैं तिहार अवधिमा सयपत्री फूल बिक्री बाट ५ लाख आम्दानी गरेका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट ५ लाख बढी आम्दानी गर्न सफल भएका हुन् ।
तथा तिहारका अवधिमा माला एक हजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गरेका हुन् । फूल बिक्री बाट तीन लाख ४४ हजार र माला बिक्री बाट एक लाख ४७ हजार ६०० गरी कूल चार लाख ९१ हजार ६०० आम्दानी गरेको उनले बताए ।
भण्डारीले फूलका थुङ्गा प्रति के.जी. दुई सय ५० देखि तीन सय र माला प्रतिगोटा एक सय ५० सम्म बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाट लगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले बताए ।
“माग भए अनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौंँ” उनले भने, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।” बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले बताए । यहाँ उत्पादन भएको फूलको माग भैरहवा बाट आएकाले केही दिनमै पठाउने तयारी भएको ब्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताए ।
पेसाले कृषि प्राविधिक अध्ययन गरेका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आएका छन् । “फूलका बोट बाट अझै उत्पादन लिन सकिन्छ” रामचन्द्रले भने, “अब उत्पादन हुने मध्येको केही फूलको माग भईआएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजा लगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुने छ ।”
दशैं तिहारको अवधिमा फूलको ब्यापार बाट झण्डै ५ लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै दुई लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ । बाँदरले अन्नबाली नष्ट गरिदिए पछि भण्डारीले विकल्पको रुपमा फूलखेती थालेका हुन् । खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारे पछि विकल्पकोरुपमा फूल खेती गरेका भण्डारीले यस वर्ष देखि सयपत्री फूलको ब्यावसायिक उत्पादन थालेका हुन् ।
“विगतमा मकै, गेडागुडी, मौसमी तथा बेमौसमी तरकारी सहितका अन्नबाली उत्पादन गर्दै आएका थियौँ” उनले भने, “पछिल्ला वर्षमा बाँदरले अन्नबाली सखापै पार्न थालेपछि अन्नबाली लगाउन छाडेर विकल्पको रुपमा फूल खेती थालेका हौंँ ।”
स्थानीय जलपादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका भण्डारीले विकल्पको रुपमा प्रयोग गरेको फूलखेतीमा बाँदरले क्षति नपुर्याएकाले आगामी वर्ष देखि अझै ठूलो परिमाणमा फूलको ब्यावसायिक उत्पादन गर्ने तयारीमा रहेका छन् ।
रासस
प्रतिक्रिया