आफ्नो हार स्वीकार्दै ह्यरिस द्वारा ट्रम्पलाई बधाई

एजेन्सी । ममेरिकी राष्ट्रपति चुनावकी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले डोनल्ड ट्रम्पलाई जितको लागि बधाई दिँदै आफ्नो हार स्वीकार गरेकी छन । 

ह्यारिसले आफू वर्तमान राष्ट्रपति जो बाइडन सँग मिलेर सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्ने कार्यमा लाग्ने बताइन् । आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण शासन हस्तान्तरणको लागि ट्रम्पलाई सहयोग गर्न आफ्ना समर्थकलाई उनले आह्वान समेत गरिन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ह्यारिसले सबै अमेरिकी जनताका लागि राष्ट्रपति बन्न पनि ट्रम्पलाई सुझाव दिएकी छन् । आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्ने’ समेत आश्वासन दिएकी छन् । चुनावको नतिजा आफूहरुले चाहेको जस्तो नआएको भन्दै आफ्ना समर्थकहरूलाई निराश नहुन उनको आग्रह समेत छ । चुनावमा हार हुनको बाबजुद पनि आफूले उठाएका मुद्दाहरूका लागि संघर्ष जारी राख्ने ह्यारिसले प्रतिबद्धता जनाइन् । 

यसैबीच राष्ट्रपति जो बाइडनले समेत ट्रम्पलाई फोन मार्फत जितको बधाई दिँदै शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणको प्रतिबद्धता गरेका छन् । ट्रम्पलाई विश्व भरबाट बधाईको ओइरो आइलाग्दा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैन् । 

अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपति चयन भएका हुन् । बहुमतका लागि आवश्यक पर्ने २७० इलेक्टोरल भोटमा ट्रम्पले २९४ मत पाएका थिए ।  ह्यारिसले भने २२३ मत पाएकी थिइन् ।  ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा सपथ लिनेछन् । 
 

प्रतिक्रिया