प्लाष्टिक झोलामुक्त अभियान : ३ सय ९१ किलो प्लाष्टिक जफत
तनहुँ । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसल बाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ ।
नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गते देखि प्लाष्टिक झोला मुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ ।
दमौली स्थित सृष्टि प्लाष्टिक उद्योग बाट एक किलो, नसिम स्टोर्स बाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसल बाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसल बाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।
नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई नगरपालिकको निर्णय विपरीत गरेमा जरिवानाको चेतावनी दिँदै जरिवाना रकम पनि तोकेको छ । प्लाष्टिक झोला उत्पादकलाई पहिलो पटक दुई हजार, दोस्रो पटक चार हजार र तेस्रो पटक छ हजार जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिए ।
यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक तीन हजार जरिवाना तोकिएको छ । प्रयोगकर्तालाई भने पहिलो पटक दश, दोस्रो पटक ५० जरिवाना तोकिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
रासस
प्रतिक्रिया