कृषि मन्त्री अधिकारी मेक्सिको प्रस्थान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेका छन् । 

मकै र गँहुबालीको प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएमआइटी) ले आयोजनामा गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्री अधिकारी मकै र गहुँबाली प्रवर्द्धन सम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफल बाट नेपाल सरकार र उक्त संस्था बीच भएको १० वर्षीय सम्झौता अनुरूपका अनुसन्धान तथा विकास क्रियाकलाप र संयुक्त कार्यक्रमकोे योजना तयार  गरिनेछ  । 

मन्त्री अधिकारीले  मेक्सिकोको कृषि सम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुख सँग पनि भेटवार्ता गर्नेछन् । उनले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशक अनुरूपका क्रियाकलापमा टेवा पुग्ने विश्वास लिइएको छ । 

मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारी लगायत छन् । 
रासस 

प्रतिक्रिया