नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको हो । यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर पाँच जना चिकित्सकलाई पक्राउ गरिएको थियो । बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव र डा. एरिना शाह रहेका छन् । पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध प्रहरीले ‘फोक्सट्रोट चार्ली’ अभियान चलाउँदै आएको छ । नक्कली चिकित्सक विरुद्धको अपरेसन ‘क्वाक’ कै निरन्तरतामा नक्कली सर्टिफिकेटविरुद्ध कारबाही सञ्चालन गरिएको सीआईबीले जनाएको छ । ब्युरोको जारी राखेको अपरेशनमा १५ जना चिकित्सक खोजीको सूचीमा छन् ।
प्रतिक्रिया