उपनिर्वाचनमा जाने रा.स्व.पा.को निर्णय, कसले समाल्दै छन् कमाण्ड ?
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने तयारी गरेको छ । उपनिर्वाचन हुने अधिकतम पदहरुमा सकेसम्म पार्टीका उम्मेदवार उठाउने गरी तयारी थालिएको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले चुनावी अभियानको कमाण्ड समाल्ने छन् । उपचुनावका लागि रास्वपाले केन्द्रीय निर्वाचन संयोजन समिति बनाउँदै संयोजकमा पराजुलीलाई जिम्मेवारी तोकेको हो ।
सभापति लामिछाने सहकारी ठगि तथा संगठित अपराधको कसुरमा पक्राउ परेपछि सडक आन्दोलनमा रहेको रास्वपा उपनिर्वाचनमा जाने नजाने अन्योलमा थियो । तर, पार्टीले सडक आन्दोलनलाई निरन्तरता दिँदै उपचुनावमा भाग लिने निर्णय गरेको छ ।
सात प्रदेशमा सातै वटा प्रदेश संयन्त्र, जिल्ला संयन्त्र, पालिका संयन्त्र, निर्वाचन क्षेत्र समिति संयन्त्र र सम्बन्धित वडा संयन्त्र मिलेर निर्वाचन परिचालन समिति बन्नेछ । सम्बन्धित पालिका वा वडाको संयत्र प्रमुख नै चुनावी कमाण्डर रहनेछन् ।
उपनिर्वाचनका लागि छिट्टै उम्मेदवार आह्वान गरिने बताउँदै पराजुलीले बुधबार आज बेलुका बैठक बसेर सबै कुरा टुंग्याएपछि भोलिदेखि उम्मेदवार आह्वान हुनसक्ने बताए ।
यसअघि रास्वपाले उपनिर्वाचनमा भाग लिनेबारे तीन वटा मोडालिटी बनाएको थियो । ठाउँ हेरेर पार्टीले आफ्नै उम्मेदवार उठाउने, पार्टी बाहिरको उम्मेदवारलाई समर्थन गर्ने वा तटस्थ बस्ने तीन विकल्पमा रास्वपाले काम गरिरहेको छ ।
प्रतिक्रिया