काठमाडौं महानगरले कपनको यज्ञमती र चखुँचाखोलाखोला मिचिएको स्थानमा डोजर चलाउने
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ । काठमाडौँ महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको हो । महानगरको टोली बिहीबार पुरिएको खोला खोल्न गए पनि स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेन । आज चखुँचाखोला खोल्ने तयारी महानगरले गरेको छ । काठमाडौँ महानगर प्रमुख बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबिच बिहीबार दिउँसो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको हो । तीन वटा नक्सामध्ये दुई वटामा खोला देखिन्छ । हालसाबिकको नक्सामा खोला नदेखिएकाले यस विषयमा नापी कार्यालयसँग पनि आवश्यक परामर्श गर्ने महानगरको तयारी छ । २०६० साल भन्दाअघि खोलाको बहाव मिचेर संरचना बनाएपछि कपन र सरस्वतीनगर डुबानमा पर्ने गरेको हो । भूमाफियाले खोला मिचेर अव्यवस्थित आवास क्षेत्र बनाएपछि काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोलालाई ढलमा परिणत गरिएको छ । २०५० सालपछि तत्कालीन कपन गाविसमा बस्ती विस्तार तीव्र भएको र क्रमशः खोला पुर्न भूमाफिया नै अघि सरेको बताइन्छ ।
प्रतिक्रिया