डोनाल्ड ट्रम्पले भने- जीवनको सबैभन्दा महत्वपूर्ण दिनमध्ये आजको दिन एक हो

काठमाडौं । रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् । 

फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनस्थापित भएकोतर्फ सङ्केत गर्दै भने ।

सीमा व्यवस्थापन गर्ने र देशलाई एकिकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै उनले भने । 

सम्बोधनका क्रममा उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिए । 

उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् । 

मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन् ।

समाचार तयार पार्दासम्म ट्रम्पले ५करोड ८८ लाख ७७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् भने ह्यारिसले ६ करोड ३६ लाख १३ हजार ९ सय ५१ मत प्राप्त गरेकी छन् । 

नेपाली समय अनुसार बुधबार मध्यान्नसम्ममा रिपब्लिकन नेता ट्रम्पले मङ्गलबार खसेको कुल मतको ५१.१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् छने डेमोक्र्याटिक पाटीका तर्फबाट उम्मेदवार हुनुभएका उपराष्ट्रपति कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गरेकी छिन् ।

रिपब्लिकन नेता ट्रम्पले २ सय ६६ इलेक्टोरल मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ह्यारिसले २ सय १९ इलेक्टोरल मत प्राप्त गरेकी छन् । यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २ सय ७० मा पुग्न अब मात्र चार इलेक्टोरल मतको आवश्यक हुनेछ । 

अमेरिकी समाचार संस्था फक्स न्यूजले ट्रम्प निर्वाचित भएको घोषणा गरेको छ । फक्स न्यूजले ट्रम्पलाई २ सय ७० भन्दा माथि थप केही सीट प्राप्त हुने जनाएको छ ।

प्रतिक्रिया