काठमाडौं उपत्यकामा छठ पर्वको रौनक
काठमाडौं । तिहार सकिए लगत्तै काठमाडौं उपत्यकामा छठको रौनक शुरु भएको छ । काठमाडौै उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।
छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिल बत्ती सहित सिङ्गारिएका छन् । पशुपति क्षेत्र स्थित गुह्येश्वरी मन्दिर मुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ । गुह्येश्वरी बाट गौरीघाट सम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ ।
उक्त क्षेत्रमा पाँच सय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिए। उनले भने, “हामीले पाँच सय ६७ छठ घाट निर्माण गरेका छौँ, आज बिहान सम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन् ।”
पशुपति क्षेत्र स्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले ३ लाख उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताए ।
यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ । कमलपोखरीमा २६० वटा टेन्ट बनाएको समितिले जनाएको छ । छठका लागि काठमाडौंका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।
रासस
प्रतिक्रिया