खाद्य व्यवस्था कम्पनी द्वारा चामल उत्पादन शुरु
जनकपुर । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन शुरु गरेको छ ।
धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामल समेत उत्पादन गरेर वितरण शुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए ।
विश्व खाद्य कार्यक्रम अन्तर्गत जनकपुर स्थित सो कार्यालयको हाता भित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ तथा त्यस प्लान्ट बाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन शुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ ।
पौष्टिक तत्व भएको चामल विश्व खाद्य सङ्गठनले भारत बाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रति एक सय के.जी. बोरा चामलमा एक के.जी. पीठो मिसाएर (पौष्टिकतत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले भने ।
विश्व खाद्य कार्यक्रम अन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौं कार्यालयमा जडान गरिएको छ । भारतको रासन वितरणमा यो चामल अनिवार्य त्यहाँको सरकारले गरेको छ ।
सो कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री शुरु गरेको कार्यालय प्रमुख साहले बताए । अरुवा सोना मन्सुली चामल प्रति के.जी. ६५ मा ५ छुट गरेर ६० तथा बासमती चामल प्रति के.जी. १ सय २३ मा ५ छुट गरेर प्रति के.जी. १ सय १८ का दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहको बताइएको छ ।
सहुलियत मूल्यमा बिक्रीका लागि दुई सय क्विन्टल चामल सो कार्यालयले कोटा निर्धारण गरेको छ । एक जनालाई ५० के.जी.सम्म सो सहुलियतको चामल बिक्री वितरण गरिने प्रावधान छ ।
रासस
प्रतिक्रिया