अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प बिजयी भएका छन् ।

हिजो मंगलबार सम्पन्न  भएको निर्वाचनको अन्तिम मत गणना आज बुधबार सकिएको हो । मतगणनामा ट्रम्प विजयी भएका हुन् । यो निर्वाचनमा अमेरिकी उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिस, डेमोक्र्याटिक र पूर्व राष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका थिए । चुनावी रणभूमिमा उत्रेका दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो ।

जितका लागि २७० इलेक्टोरल मत चाहिनेमा ट्रम्पले २७९ मत ल्याइसकेका छन् ।  अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्ने प्रावधान रहेको छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पले आफूले अमेरिका र अमेरिकी जनताको हितमा काम गर्ने बताएका छन् ।

बिभिन्न मत सर्बेक्षणले ह्यारिस अगाडी रहेको देखाएको थियो । तर सर्बेक्षण अनुसार परिणाम भने फरक आएको छ । अमेरिकी जनताले ४७ औं राष्ट्रपतिको रुपमा ट्रम्पलाई चुनेका छन् । विश्वकै शक्तिशाली मानिएको अमेरिकाको राष्ट्रपतिको निर्वाचनलाई बिश्वभर चासोका साथ हेरिएको थियो । ह्यारिसले ४७ प्रतिशत र ट्रम्पले ५१ प्रतिशत मत ल्याएको थिए । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका थिए ।

यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका थिए । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले अमेरिकाको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको थियो।

तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको थियो । उता आप्रवासीहरुप्रति कडा नीति  नीति अङ्गीकार गर्ने र अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति  ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहण गर्न कडा प्रतिस्पर्धामा थिए । अन्तत ट्रम्पले बाजी मारेका छन् । 

चुनाव  जितेसँगै ट्रम्पले जनवरी २०,२०२५ सोमवार संयुक्त राज्य अमेरिकाको संसद् ’यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिको रुपमा  शपथग्रहण गर्ने छन्। उक्त समारोहमा नयाँ राष्ट्रपतिले देशको संविधानको रक्षा गर्ने वाचा गरेर राष्ट्रपतिका रूपमा पहिलो भाषण गर्ने छन्।
 

प्रतिक्रिया