भुइँकटहर खेती बाट वार्षिक १५ लाख सम्म आम्दानी

सुनसरी । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवा बाट निवृत्त भए पछि शुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर, पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनले कृषि क्षेत्रमा सक्रिय भए । 

अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समय देखि भुइँकटहर खेतीकोमा लागेका उनले यसै बाट मनग्गे आम्दानी गरिरहेका छन् । 

हाल उनले एक विघामा भुइँकटहर लगाएका छन् । यस बाट वार्षिक १५ लाख आम्दानी हुने गरेको उनले सुनाए । वार्षिक एक लाख खर्च कटाउँदा  १४ लाख सम्म सजिलै बचाउन सकिने उनको भनाइ छ । उनले भने, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको  मूल्य पनि पाइन्छ । गत वर्ष भन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।”

उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा एक सय देखि एक सय ५० सम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ । 

अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि  समस्या नभएको उनले सुनाए । उनका अनुसार विरुवा बिक्री बाट मात्रै वार्षिक एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ । 

उनले एउटा विरुवालाई १० देखि  २० सम्ममा बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप  ७७ हजार उपलब्ध गराइसकेको छ ।
रासस 

प्रतिक्रिया