मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरु

जलेश्वर । मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आज देखि शुरु भएको छ ।

सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमी देखि शुरु भई १० दिन सम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने जलेश्वर नगरपालिका–८ का पण्डित अनिल पाठकले बताए । 

आज देखि १० दिन सम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाईको दीर्घायुको कामना गर्दै मिथिलाको प्रत्येक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामा चकेवा खेल्ने छन् ।

आज बिहानै मिथिलाञ्चलकी दिदी बहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाईको हात बाट माटो खनेर ल्याएका छन् । 

सामा चकेवा बेलुका सम्म सुकिसके पछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइन्छ । रङ्गिन सामा चकेवालाई राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा लगेर १० दिन सम्म गीत, नाच गर्दै दाजुभाईको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउछन् । 

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका गीतहरु गाएर सामा चकेवा खेल्ने गर्छन् । 

दिदीबहिनीहरुले ११औँ दिनमा बिहानै सामा चकेवाहरुलाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा चकेवा बाट दाजुभाईको फार भराउने तथा दाजुभाई बाट सामा चकेवा फुटाउन लगाउँछन् । त्यसपछि सामा चकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीहरुले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गरे पछि पर्वको समापन हुने जलेश्वर नगरपालिका–१ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पूजारी उपेन्द्र पाठकले बताए । 

सामा चकेवा पर्व खेल्नाले दाजुभाईको सुस्वास्थ्य रहने, आयु लामो हुने र आर्थिक रुपमा समृद्धि हुने तथा दिदीबहिनीहरु प्रतिको सम्बन्ध प्रगाढ हुने जन विश्वास छ । सोही अनुरुप मिथिलाञ्चलको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सा लगायत सीमावर्ती भारतीय जिल्ला सीतामढी, पटना, दरभङ्गा, मुजफ्फरपुर, मधुबनी लगायतमा यो पर्व लोकप्रिय छ । 

मिथिलाञ्चलमा छठ पर्वको सध्याकालीन अर्घ दिनु भन्दा एकदिन पूर्व देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारी सँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गरेको जलेश्वर–६ की ३० वर्षीया महिला विनिता देवीले बताइन् । 
रासस

प्रतिक्रिया