मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
काठमाडौं । आर्थिक कूटनीतिका माध्यम बाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीति नुसार देशको पर्यटन प्रर्वद्धन टेवा पुर्याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ ।
यही कात्तिक १६ गते देखि १८ गते सम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औँ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालको पर्यटन प्रर्वद्धन सम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो ।
ओटावा स्थित नेपालको राजदूतावासले पालिस डेस सम्मेलन केन्द्रमा एकल प्रदर्शनी कक्ष खडा गरेर नेपालका प्रमुख पर्यटकीय गन्तव्य बारे जानकारी दिने प्रर्वद्धनात्मक वृत्तचित्र र अन्य प्रचारात्मक सामग्री प्रदर्शन गरिनुका साथै ती सामग्री आगन्तुकहरूलाई प्रदान गरिएको थियो ।
उक्त दूतावासका अनुसार नेपाल प्रदर्शनीकक्षमा हस्तकला, काष्ठकला, थान्का, पश्मिना सल, चिया, कफी लगायत नेपालका प्रमुख निर्यातजन्य सामग्री प्रदर्शन गरिएका थिए । ठूला सङ्ख्यामा नेपाल कक्षमा आएका आगन्तुकहरूले रुचिपूर्वक प्रदर्शनीको अवलोकन गर्नाका साथै नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्य बारे जानकारी लिएका थिए ।
रासस
प्रतिक्रिया