तिहारमा ५० करोड रुपैयाँको फूलको व्यापार

काठमाडौं । यस वर्षको तिहारमा ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबै भन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको छ ।

फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय तिर्नु परेको थियो । 
 
काठमाडौं महानगरपालिकाले फूल बिक्री स्थल तोकेका कारण यस वर्ष सहज भएको उनले बताए ।  यस वर्ष काठमाडौं महानगरपालिकाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो । 

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशत सम्म वृद्धि हुने तर, उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारत बाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए । 

काठमाडौं उपत्यकाको तीन जिल्ला सहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिए ।  पुष्पखेती बाट ४४ हजार भन्दा बढी लाभान्वित भएका छन् भने दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।
रासस 

प्रतिक्रिया