उपनिर्वाचन भ्रष्टाचार विरोधी अभियानकै रूपमा अघि बढाउन प्रचण्डको निर्देशन

काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन निर्देशन दिएका छन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडाध्यक्ष पदका उम्मेदवार तथा पार्टीको सम्बन्धित कमिटीका पदाधिकारीसँगको भेटमा उनले यस्तो निर्देशन दिएका हुन् ।

‘हामीले सरकारको नेतृत्व गर्दा जसरी सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेका छौँ, यो क्षणिक कार्यक्रम मात्र नभएर आगामी दिनमा अघि बढ्ने हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोणमा आधारित कार्यक्रम हो,’ प्रचण्डले भने, ‘त्यसैले आसन्न उपनिर्वाचनको मुख्य एजेन्डा पनि सुशासन नै हो, उपनिर्वाचन यही अभियानको निरन्तरताको रूपमा अघि बढ्नेछ ।’

अहिलेको सरकारले गरिरहेको गतिविधिले त्यसलाई थप पुष्टि गरेकाले आसन्न उपनिर्वाचन निश्चित ठाउँमा मात्रै हुने भए पनि जनताले भ्रष्टाचारी या भ्रष्टाचारविरोधी कसलाई छनोट गर्ने भन्ने परीक्षणको समय पनि हुने उनले बताए ।

माओवादीको सरकारले भ्रष्टाचारीमाथि थालेको कारबाहीका कारण जनताको बिचमा महत्त्पूर्ण सन्देश गएको उनको भनाइ छ ।

माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा प्रा.डा. शिवशरण महर्जनलाई अघि सारेको छ । त्यस्तै, कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णयसमेत गरेको छ ।

कीर्तिपुर नगर समितिले तीनैजना उम्मेदवार सर्वसम्मत रूपमा चयन गरेको जानकारी गराएपछि खुसी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सर्वसम्मत उम्मेदवार छनोटले जितको राम्रो सुरुवात गरिसकेको जिकिर गरे ।

प्रतिक्रिया