गोरखामा बरामद चम्किलो ढुंगा ‘क्वार्ज क्रिस्टल’ भएको प्रमाणित
गोरखा प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिस्टल भएको प्रमाणित भएको छ। खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले दुई दिन लगाएर गरेको अध्ययनबाट सो ढुंगा क्वार्ज क्रिस्टल भएको प्रमाणित भएको हो।
विभागकी भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले बुधबार गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र एसपी अनुपम श्रेष्ठलाई नमुना परीक्षणबारेको जानकारी पत्र बुझाएका थिए।
विभागको टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परिक्षण गरिएको र उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर प्रमाणित भएको हो ।
प्रहरीले गोरखा नगरपालिका– ७ सतिपिपलको एक घरबाट उक्त ढुंगा गत असार १४ गते बरामद गरेको हो। उक्त ढुंगाको तौल ५४ केजी छ।
प्रहरीले बरामद गरेको ढुंगा परीक्षणका लागि विभागमै लाने चर्चा थियो। तर, स्थानीयले विरोध गरेपछि प्रशासनको समन्वयमा विभागको टोली जिल्लामा बोलाइएको हो। उक्त ढुंगामा धार्मिक आस्था जोडिएकाले जिल्लावासीले गोरखा दरबार वा गोरखा संग्रहालयमा राख्नुपर्ने माग गर्दै आएका छन्।
प्रतिक्रिया