मानव बेचबिखन मुद्दामा दिलीप राउत कुवेतबाट पक्राउ
काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक जना पक्राउ परेका छन् ।
धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउतलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो ।
एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न मंगलबार नेपाल ल्याइएको छ ।
उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी गरी पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट असोज १८ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
प्रतिक्रिया