अमेरिकामा नयाँ राष्ट्रपतिको लागि मतदान शुरु, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन गर्न मतदान सुरु भएको छ । यो निर्वाचनबाट देशका ४७औँ राष्ट्रपति छानिने छन् ।

न्यूयोर्क र इन्डिआनासहितका अमेरिकाको पूर्वी क्षेत्रहरूबाट मतदान सुरु भएको छ ।

पदासीन उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच नयाँ राष्ट्रपति बन्न निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

ह्यारिसले गर्भपतनको अधिकारसँगै कामकाजी परिवारका लागि खाना तथा आवासको खर्च कम गर्ने पैरवी गरिरहेकी छन् । ट्रम्पले आप्रवासीहरूको गैरकानुनी अमेरिका प्रवेश रोक्न सीमा बन्द गर्ने र खर्बौँसम्म कर कटौती गर्ने वाचा गरेका छन् ।

राष्ट्रपति निर्वाचनअघि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको दुई पटक हत्या प्रयास भएको थियो । डेमोक्र्याटिक पार्टीको उम्मेदवार बनेका राष्ट्रपति जो बाइडन प्रतिस्पर्धाबाट बाहिरिएपछि उनको स्थानमा ह्यारिस उम्मेदवार बनेकी हुन् ।

दुवै पक्षका उम्मेदवारहरूले चुनावी प्रचार र विज्ञापनमा अर्बौँ डलर खर्च गरेका छन् । मतसर्वेक्षणहरूले दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने र मतान्तर निकै कम हुने देखाएका छन् ।

अमेरिकी मतदाताहरूले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्का सदस्यहरू चयनका लागि पनि मत हाल्दैछन् । कतिपय राज्यमा गर्भपतनको अधिकारबारे पनि मतदानबाट निर्णय हुँदैछ ।

मतदानको मुख्य दिनअघि नै ८ करोडभन्दा धेरै अमेरिकीहरूले अग्रिम मत खसालिसकेका छन् ।

निर्वाचनको अन्तिम परिणाम छिटोमा मतदान सकिएको केही समयमै र ढिलोमा केही दिनपछि आउन सक्ने ठानिएको छ ।

प्रतिक्रिया