एमाले-कांग्रेसले मतदातालाई धोका दिए, माफी माग्नुपर्छ : प्रभु शाह
जनकपुरधाम । आम जनता पार्टीका प्रभु शाहले एमाले र कांग्रेसले मतदातालाई धोका दिएको बताएका छन् ।
दीपावली तथा छठ पर्वको अवसरमा धनुषामा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा बोल्दै उनले दलतन्त्र कमजोर भएपछि ठुला दुई दल एमाले र कांग्रेसले गठबन्धन गरेको बताएका हुन् ।
‘पछिल्लो निर्वाचनमा एमाले नेतृत्वमा एउटा गठबन्धन थियो । अर्कोतर्फ कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन थियो । एमालेले मतदातासँग मलाई मत दिनु एमालेको सरकार बनाउँछौँ भन्यो, र कांग्रेसले हामीलाई मत दिनुस् हामी कांग्रेसको सरकार बनाउँछौँ भन्यो । तर एमाले कांग्रेसको र कांग्रेसले एमालेको सरकार बनाउँछौ भनेका थिएनन्,’ अध्यक्ष शाहले भने, ‘तर दुवै दलले मतदातालाई धोका दिए ।’
‘अनैतिक गठबन्धन गरेपछि के यिनीहरूले मतदातासँग माफी माग्नुपर्ने बताउँदै उनले भने, ‘एमाले र कांग्रेसले भोट फिर्ता गर्नुपर्दैन ? एउटा दलालले जग्गा किनबेचको बैना लिन्छ तर किनबेच नभएपछि बैना फिर्ता गर्छ । यिनीहरू मतदाताको भोट फिर्ता नगर्ने कस्तो दल भएछन् ।’
एमाले र कांग्रेसको गठबन्धन केही नेताको सीमित स्वार्थका लागि भएको बताउँदै उनले यो गठबन्धनबाट कांग्रेस र एमालेकै नेताकार्यकर्ताहरु सन्तुष्ट नदेखिएको बताए ।
एमाले र कांग्रेसको निर्वाचनमा छुटाछुटै गठबन्धन रहेको र यिनीहरुको कुनै बिचार, सिद्धान्त, रुपरंग केही पनि नमिल्ने उनले बताए । जनतालाई दिनुपर्ने सेवा, सुविधा दिन नसकेको यो सरकार धेरै दिन नटिक्ने उनको दाबी छ ।
प्रतिक्रिया