चितवनमा टेलिकमको पाइपबाट पानी बगेपछि...
चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् ।
दशैं अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले बिछ्याएको पाइपबाट पानी निस्किएको बताइन् । शुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको न्यौपानेले बताइन् ।
टेलिकमको पाइपमा कहाँबाट पानी छि–यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उनको भनाई छ । खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको न्यौपानेले बताइन् ।
नारायणगढदेखि गोन्द्राङसम्म छ लेनको सडक विस्तार भइरहेको छ । सो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ । कम्पनीका इन्जिनियर सुनिल ढुङ्गानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताए ।
भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले भनिन् “हामीले दशैं अघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका थियौं, प्राविधिक कारणले काममा ढिलाइ भएको छ ।”
रासस
प्रतिक्रिया