बेमौसमी वर्षाले धान बालीमा क्षति हुँदा किसान समस्यामा

बाँके । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धान बालीमा क्षति पुर्‍याएको छ ।

वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्‍याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताए । 

दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ । केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइ डराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ । 

नेपालगञ्ज–१७ थुकैलागाउँकी किसान मायावती यादवले वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताइन् । 

बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति  पुर्‍याएको बताए । 

घिमिरेले छिटो पाक्ने धान रोपेका बाँकेका अधिकांश किसानले धान स्याहारेर गहुँ, तोरीखेतीका लागि खेत तयारी गरिरहेको जानकारी दिए । करिब ६० प्रतिशत बढी किसानले धानबाली भित्र्याइसकेको अनुमान रहेको प्रमुख घिमिरेले बताए । बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौमी वर्षाले धानबालीमा क्षति पुर्‍याएको छ । 
रासस

प्रतिक्रिया