सर्लाहीमा कार सहित बेपत्ता दुइ जनाको शव फेला
सर्लाही । सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज विहान कार सहित डुबेका दुइजनाको शव फेला परेको छ ।
आज मंगलबार बिहान सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।
कारमा सवार गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेला परेको हो । सशस्त्र प्रहरीको गोताखोरले बेपत्ता दुई जनाको शव पेला पारेको हो । शव पोखरीबाट गोताखोर टोलीले निकालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्कन सफल भएका थिए ।
घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको थियो ।गोताखोर टोलीले शव बाहिर निकालेपछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भएको प्रनाउ श्रेष्ठले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया