सुन तस्करी प्रकरणको अनुसन्धान तिब्र, तस्करको दलका नेतासँगको सम्बन्ध र सम्पर्क खोजी गरिने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले करिब एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक दलका नेताहरूसँगको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान गर्न थालेको छ । पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको हो । साउन ३ गते त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएको तस्करीको करिब एक सय किलो राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । अनुसन्धानका क्रममा विभागले पक्राउ गरेका मानिस र फेला पारेका कागजात, प्रमाण नेपाल प्रहरी प्रधान कार्यालयमार्फत ब्युरोलाई हस्तान्तरण गरेको छ । विभागले आइतबार पक्राउ मानिस र प्राप्त कागजपत्र हस्तान्तरण गरेपछि ब्युरोले अनुसन्धान अघि बढाएको छ । ब्युरोले अनुसन्धानका लागि छुट्टै कार्यालय खोलेर टोली खटाएको छ । ब्युरोका एसपी सञ्जयसिंह थापाको नेतृत्वमा अनुसन्धान टोली बनाइएको छ । सुन तस्करीलाई अन्तरदेशीय संगठित अपराधअन्तर्गत राखेर ब्युरोले अनुसन्धान गरिरहेको छ । ब्युरोले उनीहरूलाई अन्तरदेशीय संगठिगत अपराधअन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ । सुन तस्करीमा संल्गन रहेको आशंका गरिएका व्यापारी राकेश अडुकिया फरार छन् ।  यस मामिलामा १० जना चिनियाँ नागरिक शंकाको घेरामा परेका छन् । सुन तस्करीमा चीन, नेपाल, भारतका तस्करको संगठित संलग्नता रहेको आशंका गरेको छ । संगठित अपराधअन्तर्गत ६० दिनभित्र अनुसन्धान पूरा गर्नुपर्नेछ । 

प्रतिक्रिया