लगातारको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण बढ्दै

संक्रमितको संख्या दश हजार नाघ्यो

डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने १२ जनाको मृत्यु भइसकेको छ । लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण बढिरहेको हो । यसैगरी डेङ्गु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने सम्भावना औल्याइएको छ ।  सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बागमती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ । नयाँ देखिएका बिरामीमध्ये नौ हजार छ सय १२ बिरामी १० जिल्लाका रहेका छन् ।

प्रतिक्रिया