नेपालका युवाले मोबाइल एप्लिकेशनबाट कमाए ७० लाख !
काठमाडौं । कर्ण बहादुर बुढा क्षेत्री, जो हाल युनिभर्सल इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत छन् ।
बाल्यकालदेखि नै कर्ण प्रविधिप्रति गहिरो रुचि राख्थे। उनको प्रविधि यात्रा एसईईपछि सुरु भएको थियो। उनले सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा पूरा गरेपछि अनलाइन स्रोतहरूको सहायताले एन्ड्रोइड एप विकास गर्न सिके र शैक्षिक एपहरू निर्माण गर्न थाले। नेपाली विद्यार्थीहरूको लागि उनले नेपाली क्विज, कक्षा ८ र ९ का गाइडबुक एप, र नेपाली व्याकरण जस्ता एपहरू निर्माण गरी शिक्षामा महत्वपूर्ण योगदान गरे।
सन् २०२२ मा उनले “पिकअप लाइन्स – फ्लर्ट मेसेजेस“ नामक एप सार्वजनिक गरे, जसले छोटो समयमै ८ लाख भन्दा बढी डाउनलोड प्राप्त गर्यो र अफ्रिका तथा युरोपका प्रयोगकर्ताहरूमा लोकप्रिय बन्यो। २०२३ मा इजरायली कम्पनी राउन्ड एआई लिमिटेडले यो एप खरीद गर्नको लागि २५ हजार अमेरिकी डलर प्रस्ताव गर्यो। कर्णले यो प्रस्ताव स्वीकार गर्नु अघि यसको मूल्य ७० लाख नेपाली रुपैयाँ सम्म बढाउन सफल भए र अन्ततः एप बिक्री गरे।
उनको अर्को “क्वोट्स“ सम्बन्धी एप पनि अत्यधिक लोकप्रिय बन्यो, जसलाई उनले ५० लाख नेपाली रुपैयाँमा बिक्री गरे।
व्यापार प्रक्रिया सम्पन्न गर्न उनले एस्क्रो डटकमको प्रयोग गरी लेनदेन सुरक्षित रूपमा गरेका थिए। यस उपलब्धिले कर्णलाई एक नेपाली प्रविधि उद्यमीका रूपमा स्थापित गराएको छ। अब कर्णका योजना आफ्नो एपहरू आइओएस प्लेटफर्ममा पनि उपलब्ध गराउने छन्।
प्रतिक्रिया